शेरबहादुर देउवाको यस्तो अपिल,कोरोनाको उपचार नि:शुल्क हुनुपर्छ

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक रहेको प्रस्ट पार्दै सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्ने जनाएका छन् । प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको भन्दै यस्तो स्थिति आउन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजग गराएका हुन् । प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विज्ञप्तिमा भनेका छन्, ‘देशमा सर्वत्र त्रास छ, यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पिडा थप्ने काम गरेको छ । नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ ।’

सो निर्णयले सरकार जनताकाप्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको उनको भनाइ छ । ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ सेवावाट बञ्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ,’ उनले विज्ञप्तिमा भनेका छन् । कोभिड–१९ नियन्त्रणको सन्दर्भमा सरकार प्रारम्भ देखिनै गैर जिम्मेवार रहेको देउवाको आरोप छ । समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परीक्षण, क्वारेन्टिन, आईसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई ईज्जतपूर्वक सुरक्षित घर फिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण रहेको पनि उनले उल्लेख गरेका छन् । ‘हामीले समयमा दिएका सुझावलाई पनि सरकारले वास्ता गरेन,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘महामारीको भयावह अवस्था सिर्जना हुनुमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जिम्मेवार छ ।’

देशमा कालाबजारी, महँगी, मिसावट, कृत्रिम अभाव, भ्रष्टाचार र बेथिति उग्र रुपले प्रकट भएको भन्दै उनले आर्थिक पारदर्शीता, अनुशासन र मितव्ययिता नभएको र अनावश्यक काममा सरकारी ढुकुटी खर्च भएको आरोपसमेत लगाएका छन् । ‘तर नागरिकको स्वास्थ्य बारे सरकार असंवेदनशील बनेको छ,’ उनले भनेका छन्, ‘म नेपाल सरकार र मा। प्रधानमन्त्रीलाई कोभिड—१९ को परिक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरि नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु ।’यस विषम परिस्थितिमा जनताको जीवननै कष्टकर भएको यथार्थतर्फ सम्वेदनशील भई जनताको हितमा काम गर्न पनि उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

कोभिड–१९ को संक्रमणका कारण धेरै नेपाली दाजुभाइ–दिदीबहिनीको मृ,त्यु भएको भन्दै उनले ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । उनले सक्रिय संक्रमितको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन् ।

    Comment Here!